काठमाडौं । आफू सरकारी स्कुलमा पढाएर तलब खाने तर छोराछोरीलाई टाइ लगाएर निजी स्कुलमा पठाउने प्रवृत्तिले नै सरकारी विद्यालयको स्तर खस्किएकोमा दुई मत छैन । यही अवस्थालाई सुधार गर्न दैलेखको गुराँस गाउँपालिकाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने ३० सरकारी शिक्षकलाई कारबाही गरेको छ। आफूले सामुदायिक विद्यालयमा पढाउने र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढ्न पठाउने शिक्षकहरूलाई कारबाहीस्वरूप जरिवाना तोकेर पत्र पठाईएको हो। गाउँपालिकाका स्रोतव्यक्ति थिरेन्द्र कुमार बिसीका अनुसार प्रति शिक्षक १० हजार रूपैयाँ जरिवाना तोकेर ३० जना शिक्षकलाई पत्र पठाईएको छ। गाउँपालिकाले विद्यालय र विद्यालयले शिकहरूलाई जरिवाना तोकिएको पत्र पठाएका छन्। उक्त पत्रमा गाउँपालिकाको आन्तरिक राजश्व कोषमा दाखिला गरेको सक्कल भौचर पेश गर्नुपर्ने उल्लेख छ। गुराँस गाउँ कार्यपालिकाले २०७५ चैत २५ गते सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफ्नो छोराछोरीलाई पनि सामुदायिक विद्यालयमा नै पढ्न पठाउनुपर्ने निर्णय गरेको थियो।