free website hit counter

भारतको सवा २ खर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, अनुदान ५६ अर्ब मात्रै

beemaadmin
२०८३ मंसिर ८, सोमबार

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको करिब दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोगमध्ये अधिकांश रकम सहुलियतपूर्ण ऋणका रूपमा आउने भएको छ। भारतले कुल सहयोगमध्ये ५६ अर्ब रुपैयाँ मात्रै अनुदान दिने भएको हो।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि सोमबार जारी संयुक्त वक्तव्यअनुसार भारतले विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ५६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। बाँकी एक खर्ब ८४ अर्ब रुपैयाँ भने सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त हुनेछ।

Advertisement
Advertisement

संयुक्त वक्तव्यमा उल्लेख भएअनुसार ऋण सहायता विशेषगरी ऊर्जा क्षेत्रका परियोजनामा खर्च गरिनेछ।

Advertisement
Advertisement

यसअघि मोदीले प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। तर, संयुक्त वक्तव्यले उक्त सहयोगको ठूलो हिस्सा ऋण हुने स्पष्ट पारेको छ।

भारतले उपलब्ध गराउने विकास सहायता कुन–कुन परियोजनामा खर्च गर्ने र सहयोग परिचालनको प्रक्रिया कस्तो हुने भन्ने विषय भने अझै टुंगिएको छैन। यसका लागि दुवै देशबीच आपसी परामर्श गरेर छुट्टै कार्यविधि तथा परियोजना निर्धारण गरिने संयुक्त वक्तव्यमा उल्लेख छ।

‘यस विकास सहायताअन्तर्गतका विशिष्ट परियोजना र सहायता प्रदान गर्ने कार्यविधि आपसी परामर्शका माध्यमबाट टुंगो लगाइनेछ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

यसैबीच, नेपालले बुटवल–पोखरा एक्सप्रेसवेको निर्माणका लागि भारतसँग सहयोग मागे पनि उक्त प्रस्ताव स्वीकार भएको छैन। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा बुटवल–पोखरा एक्सप्रेसवेसम्बन्धी कुनै उल्लेख गरिएको छैन।

यसले भारतले घोषणा गरेको ठूलो विकास सहायता प्याकेजमा नेपालको पूर्वाधार विकासका सबै प्राथमिकता समेटिन नसकेको देखाएको छ। विशेषगरी अनुदान र ऋणको अनुपात तथा सहायता परिचालन हुने परियोजनाले नेपालको विकास प्राथमिकतामा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्त्वपूर्ण हुने देखिन्छ।

सम्बन्धित समाचार