free website hit counter

भूगर्भको अध्ययन बिना विकासमा राज्यको खरवौंको लगानी

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । भौतिक पूर्वाधारको विकास र ठूला निर्माणहरुमा भूगर्भको बिना अध्ययन संरचनाहरु बनाइएका कारण ती संरचनाहरु टिकाउ नहुने भूगर्भविद्हरुले बताएका छन् । नेपाल सरकारका पूर्व सचिव एवं लामो समय खानी तथा भूगर्भ विभागको महानिर्देशकको समेत जिम्मेवारी सम्हाल्नुभएका सर्वजित महतोले विकास निर्माणका हरेक काममा भूगर्भको अध्ययन गर्नुपर्नेमा अहिलेसम्म सो कार्य हुन नसकेकोमा दुःखेसो व्यक्त गर्नुभयो ।

आफ्नो समयम विकास निर्माणका निश्चित प्रतिशत रकम विनियोजन गरेर भूगर्भको अध्ययनमा खर्चिनुपर्ने प्रस्ताव पटक पटक लगिए पनि सम्बन्धित मन्त्रालयले बुझ्न नसक्दा उक्त प्रस्ताव अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । अरवौंको संरचना निर्माण गर्दा लाख खर्चिएर गर्न सकिने अध्ययनमा सरकारको ध्यान नपुग्दा विकासका संरचनाहरु टिकाउन हुननसकेको र कुनै पनि सामान्य प्राकृतिक विपत्ति पनि त्यस्ता संरचनाहरुले थेग्न नसकेको उहाँले बताउनुभयो । आज पिच गरिएको सडक एक हप्ता नबित्दै उप्किने र खाल्डाखुल्डी हुने समस्या उपत्यकाबासीको मात्रै होइन आम देशवासीको समस्या हुन पुगेको छ ।

त्यसबेला सरकारलाई गाली गर्ने र सरकारले ठेकेदारलाई दोष पन्छाएर उम्किने गरेका प्रशस्त उदाहरणहरु छन् । यस सन्दर्भमा भूगर्भविद् महतो भन्नुहुन्छ, सडक निर्माण गर्दा सम्बन्धित जमिनको अध्ययन हुनुपर्ने र अध्ययनअनुसार कति लेयर र स्टेन्थ राख्दा त्यो सडक मजबुद र टिकाउ हुन्छ भन्ने कुरा निक्र्योल गरिसकेपछि सोही अनुसारका निर्माण सामग्रीको प्रयोग हुनुपर्नेमा जथाभावी बिना अध्ययन कच्चा पदार्थको प्रयोग गर्दा ती कच्चा पदार्थको दुरुपयोग मात्रै हुन पुगेको, त्यस्ता सडक टिकाउन हुन सकेका छैनन् ।

विकास हावामा हुने होइन, जमिनमै हुने भएका कारण भूगर्भीय अध्ययन गहन हुनुपर्नेमा त्यस्तो हुन नसकेको उहाँले दुखेसो पोख्दै अरवौं खर्च गरेर बनाइएका विकासका संरचना टिकाउ नहुनुमा अध्ययन बिनाको लगानी रहेको उहाँको ठहर थियो । काठमाडौं उपत्यकाको जमिन धसिने किसिमको रहेको छ । त्यस्तो जमिनमा बनाइएको संरचनाको लोड धान्न सकिरहेको छैन ।

त्यस्तो भूगोलमा कसरी मजबुद संरचना निर्माण गर्न सकिन्छ भन्ने पूर्व अध्ययन नहुनु दुःखको कुरा भएको उहाँले बताउनुभयो । काठमाडौंका सडकका पिच इमर्जेन्सी बाटो निर्माण गरेजस्ता मात्रै छन् । इमर्जेन्सी बाटा भनेका मूल सडक निर्माण नभएसम्मका लागि बनाइने संरचना हो । तर, अधिकांश सडकका संरचना इमर्जेन्सी प्रयोजनका लागि बनाइएका जस्ता मात्रै भएको वरिष्ठ भूगर्भविद् महतोको दाबी छ ।

सम्बन्धित समाचार