काठमाडौं । भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। कम्पनीका तर्फबाट ५१ लाख रुपैयाँ तथा सञ्चालक र कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँको एकमुष्ट रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
भदौ १० गते रसुवासहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
कम्पनीले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावित समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको छ।
सानिमा रिलायन्स लाइफले विपद्को कठिन समयमा राज्य तथा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। कम्पनीका अनुसार उपलब्ध गराइएको सहयोगले बाढी प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।