विश्वविख्यात मोडल एवं चर्चित पर्वतारोही आङतेम्बा शेर्पा कलाकारिता क्षेत्रमा पनि उत्तिकै पोख्छ छन् । विभिन्न चलचित्र र गीतमा अभिनय गर्दै आएका शेर्पा अहिले चलचित्र प्रेमगीत– ३ को सुटिङमा व्यस्त छन् । हिमाली जिल्ला मनाङमा चलचित्र प्रेमगीत– ३ को सुटिङ अहिले भइरहेको छ । त्यहाँको तापक्रम माइनस १२–२० डिग्री रहेको छ । चिसो मौसमका बाबजुद पनि चलचित्रको सुटिङलाई निरन्तरता दिइरहेका छन् । कलाकार आङतेम्बा शेर्पा यस चलचित्रमा पिताको भूमिकामा छन् । चलचित्रमा सदावहार नायक शिव श्रेष्ठ, अभिनेता सुनिल थापा, मुख्य नायक प्रदीप खड्का छन् भने नायिकाको भूमिकामा क्रिस्टिना गुरुङ रहेकी छिन् । आगामी चैत २८ गतेबाट आम दर्शकमाझ आउने लक्ष्य राखेको सो चलचित्रका निर्माता÷निर्देशक सन्तोष सेन र क्षेतेन गुरुङ छन् भने क्यामेरा राजेश श्रेष्ठ घुमाइरहेका छन् ।