काठमाडौं । नियामक निकाय बीमा समितिबाट स्वीकृत लिएर पनि सार्वजनिक नभई बसेको महालक्ष्मी लाइफ इन्स्योन्सेको आजीवन बीमा योजना सार्वजनिक भएको छ ।
एक पटक जीवन बीमा गरेपछि जीवनको उत्तराद्र्धसम्म जोखिम बहन तथा दुई पटक बीमाङ्क रकम फिर्ता पाइने यस ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजनाअन्तर्गत जीवन बीमा गरेपछि जीवनभर जोखिम बहन हुने छ । यो योजना अहिले बजारमा रहेका बीमा योजनामध्येको उत्कृष्ट रहेको दाबी कम्पनीले गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ रमेशकुमार भट्टराई भन्छन्, आजीवन बीमा योजना यसअघि नै बीमा समितिबाट स्वीकृत भइसकेको भए पनि औपचारिक रुपमा हामीले बल्ल बिक्री सुरु गरेका छौं । यसअघि अनौपचारिक रुपमा बिक्री गरिए पनि साउन २८ गते बुधबारदेखि औपचारिक रुपमा सार्वजनिक भएको हो । दीर्घकालिन लगानी र जोखिम बहनका हिसाबले सुरु गरिएको बीमा योजनामा सर्वसाधारणको राम्रो सहभागिता रहने अपेक्षा कम्पनीले लिएको छ ।
यो बीमा योजनामा १८ वर्षदेखि ६५ वर्ष उमेरका नेपाली नागरिक सहभागी हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि ३० वर्षसम्मको बीमा पोलिसी खरिद गर्न मिल्ने जनाइएको छ । बीमा शुल्क पनि अरु बीमा पोलिसी भन्दा खासै महंगो नभएको दाबी गर्छन् सिईओ भट्टराई । प्रबद्र्धनका लागि थोरै लागतमा आजीवन बीमा योजना ल्याएको भट्टराईको दाबी छ ।
कम्पनीका अनुसार पाँच वर्षे बीमा गर्दा समेत ८४ बर्षसम्मको जोखिम वहन हुनेछ । एक पटक बीमा गरेर परिपक्व भई बीमाङ्क रकम भुक्तानी लिईसकेपछि पनि बीमा पोलिसी जीवितै रहने छ । बीमा गरेको व्यक्ति ८४ वर्ष पुगेपछि पुनः बीमाङ्क रकम प्राप्त गर्नेछ भने त्यसभन्दा यतै मृत्यु भएमा पुनः दावी भुक्तानी हुने जनाइएको छ । दुई पटक दावी भुक्तानी दिने र ८४ वर्षसम्म जोखिम वहन गर्ने बीमा योजना नेपाली बीमा क्षेत्रमा नौलो बीमा योजना भएको कम्पनीको दाबी छ ।