काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। पाँडेले साउन २९ गतेदेखि बैंकमा डीसीईओका रूपमा पदभार ग्रहण गरेका हुन्।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, तत्कालीन जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायत वित्तीय संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
उनले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए गरेका छन्। त्यस्तै, अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक उपाधि हासिल गरेका छन्।
पाँडेसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण, डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, अनुपालन, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङलगायत क्षेत्रमा लामो अनुभव रहेको बैंकले जनाएको छ।
त्यसैगरी, मर्जर तथा एक्विजिसन, बैंक तथा वित्तीय संस्थाको एकीकरण, वित्तीय विश्लेषण, उत्पादन विकास तथा दिगो एवं हरित बैंकिङ क्षेत्रमा समेत उनले काम गरेका छन्।
नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने माछापुच्छ्रे बैंकले विश्वास व्यक्त गरेको छ।