काठमाडौं । नेपाल सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको पर्यटन वर्ष २०२० बुधबारबाट शुरु हुँदैछ । बुधबारबाट शुरु हुने पर्यटनवर्ष सफल बनाउनका लागि तीनवटै तहका सरकारले आ–आफ्नो तयारी र योजना अगाडि बढाएका छन् । पर्यटनवर्ष उद्घाटनका लागि सातवटै प्रदेशका मुख्य शहरबाट मुख्यमन्त्रीहरुले उद्घाटन गर्ने कार्यक्रम छ भने केन्द्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०२० को अवसर पारी बुधबार काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित एक भव्य कार्यक्रममा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम राखिएको बताइएको छ । कार्यक्रमका दिन विशेष र्यालीको आयोजना समेत गरिने कार्यक्रम राखिएको छ । उद्घाटन कार्यक्रममा ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई निमन्त्रणा पठाइएको र अधिकांश मंगलबार साँझसम्म आइपुग्ने कार्यक्रम रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन सबै नेपालीलाई दीपावली मनाउन आग्रह समेत गरेका छन् । भ्रमण तयारी व्यवस्थापन सन्दर्भमा मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले मुलुकलाई आर्थिक, सामाजिक रुपमा अगाडि बढाउनका लागि र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिनका लागि भ्रमण वर्षको आयोजना गरिएको बताएका थिए ।
सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको पर्यटन मन्त्रालयले जनाएको छ । केन्द्रीय सरकारको योजनालाई सफल बनाउनका लागि प्रदेश सरकारहरुले पनि भ्रमण वर्षको अवसर पारेर विशेष कार्यक्रम राखेका छन् । सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् ।
उद्घाटन समारोहमा २ करोड खर्च
समारोहको मञ्च व्यवस्थापन, र्याली व्यवस्थापन लगायत अन्य कार्यक्रमका लागि २ करोड खर्च हुने अनुमान गरिएको छ । भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार उद्घाटन समारोहमा करिब २ करोड खर्च हुने अनुमान गरिएको हो । भ्रमण वर्षको उद्घाटन समारोह १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको उद्घाटनजस्तै भव्य हुने दाबी आयोजकहरुको छ । नेपाल सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेश सरकारको यस्तो छ तयारी
प्रदेश १
प्रदेश नं. १ सरकारले विराटनगरको शहीद मैदानमा भ्रमण वर्ष कार्यक्रमको भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक तयारी सकिएको बताइएको छ । उद्घाटन समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति प्रस्तुति गरिने कार्यक्रम राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धन समिति गठन र पूर्वाधारका काम पनि अघि बढाइएको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि डेढ अर्ब विनियोजन गरेको र मुख्यमन्त्रीबाट उद्घाटन हुने कार्यक्रममा प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटन शत्रमा प्रदेश भित्रका सरोकारवाला सबैको उपस्थिति हुने अपेक्षा राखेको छ ।
प्रदेश २
नेपाल सरकारको पर्यटन वर्ष २०२० को तयारीका लागि प्रदेश २ मापर्ने आठवटै जिल्लाहरुमा समन्वय समितिहरु गठन भई क्रियाशील छन् । उक्त समितिले आवश्यक तयारी पूरा गरेको र बुधबार मुख्यमन्त्रीबाट भव्य उद्घाटन हुने छ । सो अवसरमा पर्यटनसम्बन्धी विभिन्न कार्यक्रम राखिएका छन् ।
प्रदेश ३
प्रदेश सरकारले चितवनमा चलिरहेको हात्ती महोत्सवबाट नै भ्रमण वर्षको सुरुवात गर्ने योजना बनाएको छ । अन्य प्रदेश सरकारहरुले भव्य उद्घाटन कार्यक्रम राखेको अवस्थामा प्रदेश नं. ३ सरकारले भने भ्रमण वर्षको दिन चिनियाँ र भारतीय पर्यटकलाई सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ । भर्खरै चालू गरिएको सिन्धुपाल्चोकको तातोपानी, रसुवा नाका र चितवन विमानस्थलमा आउने पर्यटकलाई स्वागत कार्यक्रम राखिएको छ ।
गण्डकी प्रदेश
तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा बढी पर्यटक भित्र्याउँदै आएको गण्डकी प्रदेश सरकारले भ्रमण वर्षको औपचारिक शुरुआत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट उद्घाटन गराउने कार्यक्रम राखेको छ । गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी गरेको प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्ने भएको छ । भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको र समिति क्रियाशील रहेको छ ।
प्रदेश ५
प्रदेश ५ सरकारले बर्दियामा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेर भ्रमण वर्षको शुरुआत गर्दैछ । गत वर्ष नै लुम्बिनी भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक शुरुआत गरेको प्रदेश ५ सरकारले नेपाल सरकारको भ्रमण वर्ष शुभारम्भको दिन पारेर पवित्र धार्मिक स्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरेको छ । लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर भ्रमण वर्षका कार्यक्रम सञ्चालन हुने प्रदेश सरकारले बताएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारलेका पर्यटनवर्ष २०२० को अवसर पारेर भव्य कार्यक्रमको आयोजना गर्दैछ । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष शुभारम्भका दिन जनवरी १ मा कर्णालीका १० वटै जिल्लाका साँस्कृतिक झाँकी प्रदर्शन गर्ने र औपचारिक कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीबाट हुँदैछ । कर्णाली प्रदेश सरकारले रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रे विहारलगायतका क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा तोकेर विशेष कार्यक्रम अगाडि बढाएको छ । उक्त कार्यक्रमलाई सफल बनाउनका लागि प्रदेश सरकारले पर्यनमन्त्री नन्दसिंह बुढाको नेतृत्वमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । कर्णाली प्रदेशले सन् २०२० मा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्षको औपचारिक उद्घाटन धनगढीमा अवस्थित संघीय प्रहरी इकाई मैदानमा गर्ने कार्यक्रम राखेको छ । विशेष र्यालीपछि आयोजित मुख्यमन्त्रीबाट उद्घाटन हुने विशेष समारोहमा सुदूरपश्चिमको कला र संस्कृति झल्किन गीत तथा झाँकी प्रस्तुत गरिने छ । साथै प्रदेश सरकारले सीमा नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम पनि राखेको बताइन्छ ।