काठमाडौं । युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । विवरण अनुसार इन्स्योरेन्सले ४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड २९ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद बीमाशुल्क र पूनर्बीमा कमिशनबाट हुने आम्दानी बढेपनि अन्य आम्दानी घटेपछि इन्स्योरेन्सको खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा इन्स्योरेन्सले २४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क २३ करोड ८२ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको पुर्नबीमा कमिशनबाट भएको आम्दानी ३ करोड ६६ लाख रुपैयाँ बढेर ६ करोड ६० लाख पुगेको छ। १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ४४ लाख रुपैयाँ, बीमा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ। इन्स्योरेन्स्को वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६० पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ।
सो अवधिसम्ममा इन्स्योरेन्सले ५१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले चैत मसान्तसम्ममा ६९ हजारभन्दा बढी बीमालेख जारी गरिसकेको छ भने ४ हजारभन्दा बढी बीमालेख नविकरण गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्समा पर्न आएको करिब १६ सय दाबी बापत साढे १६ करोडभन्दा बढी भुक्तानी गरिसकेको छ भने अझै २ हजार दाबीबापतको साढे ४२ करोड भुक्तानी गर्न बाँकी छ।