काठमाडौं । राजदूत नियुक्तिमा करोडौं रुपैयाँ असुलेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफ्नो बचाउ गरेका छन्।
बिहीबार केही युट्युबरहरूसँग कुरा गर्दै उनले साउदी अरबका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारसँग आफ्नो थर मात्रै मिल्ने दाबी गरे। गिरबहादुरसँग आफ्नो कुनै आर्थिक सम्बन्ध नरहेको उनको भनाइ छ।
राजदूत नियुक्तिका लागि रकम व्यवस्थापन गरेको भन्दै डा. गिरबहादुर सुनार र सांसद खगेन्द्र सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको विषय सार्वजनिक भएको छ। तर सांसद सुनारले आरोप अस्वीकार गर्दै आफूलाई बदनाम गर्न खोजिएको दाबी गरे।
‘डा. गिरीबहादुर सुनारसँग मेरो कुनै आर्थिक साँठगाँठ छैन । उहाँसँग मेरो थर र ओशोको माला मात्र मिलेको हो,’ उनले भने, ‘सरकारको मापदण्ड पूरा गरेर आएका व्यक्तिलाई मसित जोडेर बदनाम गर्न खोजियो।’
दलित आन्दोलनका नाममा १० करोड रुपैयाँ उठाएर हिनामिना गरेको तथा सरुवा–बढुवामा लेनदेन गरेको आरोप पनि उनले व्यङ्ग्यात्मक शैलीमा अस्वीकार गरे। आफ्नो नाममा कुनै व्यापार, व्यवसाय वा सेयर नरहेको र नागरिकता तथा पासपोर्टबाहेक अन्य सम्पत्ति नभएको उनको दाबी छ।
रास्वपाबाट समानुपातिक सांसद बनाइदिने भन्दै ५० लाख रुपैयाँ लिएको भन्ने आरोप पनि उनले कपोलकल्पित भएको बताए। आफूविरुद्ध नेपाल प्रहरीको उच्च नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियोजित रूपमा षड्यन्त्र र घेराबन्दी गरिरहेको आरोप उनले लगाए।
सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नामै लिएर स्रोतसाधनको दुरुपयोग गरी मिडिया तथा सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्न साइबर टिम परिचालन गरिएको दाबी गरे।
‘सीआईबीले प्राइभेट नम्बरबाट फोन गरेर मसँग जोडिएका मान्छेलाई धम्काइरहेको छ, मेरो पछाडि डीएसपी र एसपी खटाइएको छ,’ उनले भने, ‘दम छ भने प्रहरी महानिरीक्षकले बर्दी खोलेर राजनीतिमा आउनुपर्छ। हेडक्वार्टरमा बसेर सांसदलाई लखेट्न मिल्दैन।’
उनले आफू र प्रहरी नेतृत्व दुवै निष्पक्ष छानबिनका लागि तयार हुनुपर्ने बताए। आफूमाथि लगाइएका आरोप प्रमाणित भए सांसद पदबाट समेत राजीनामा दिन तयार रहेको उनको भनाइ छ।
‘म संसद् पद छोड्न डेफिनेट्ली तयार छु। ममाथि लागेका आरोपमा रौँ जति मात्रै प्रमाण भेटियो भने म लुगा फुकालेर संसद्बाट बाहिरिन्छु,’ उनले भने।