काठमाडौं । स्थानीय नागरिकका लागि खुलेर स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर साउन ५ गते मंगलबारदेखि पुनः बिक्री खुला हुने भएको हो । कम्पनीले गत बैशाख २१ गतेदेखि स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । बैशाख २३ गतेसम्म बिक्री भई बाँकी रहेको सेयर कम्पनीले आजबाट बिक्री खुला गर्ने छ ।
यससँगै कम्पनीले छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म उक्त सेयरको बिक्री खुला गर्ने छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । साथै, यसअघि आवेदन दिईसकेका आवेदकले भने पुनः आवेदन दिन नपाउने कम्पनीले जानकारी गराएको छ । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ ।