free website hit counter

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री आजदेखि खुला

beemaadmin
२०८३ श्रावण १४, बिहीबार

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज (साउन १४ गते)देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधि रहने ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ जारी गरेको हो।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणतर्फ छुट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा साउन १९ गते र पर्याप्त आवेदन नपरे ढिलोमा साउन २८ गते बन्द हुनेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङका क्रममा केयर रेटिङ्स नेपालले बैंकलाई केयरएनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

ऋणपत्रमा प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार