काठमाडौँ । शान्ति सुरक्षा र समाजमा अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएका व्यक्तिनै अपराधमा लागेपछि समाज कस्तो बन्ला ? जिल्ला अदालत काठमाडौँले लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
अपराधमा संलग्न भएको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो । इन्सपेक्टर शाही महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत थिए । बन्दाबन्दीको समयमा इन्सपेक्टर शाहीले आफ्नै गाडीमा लागूऔषध तस्करीको आरोपमा उनी गत ११ असारमा पक्राउ परेका थिए ।
इन्सपेक्टर शाही आफैं तराई गएर सो लागूऔषध ओसारेको अनुसन्धानमा खुलेको थियो । लागूऔषध ओसारपोसार तस्करीको आरोपमा शाही र शेरचनसँगै पक्राउ परेका सन्तोष कुमार शाह, एलिसन बस्नेत र अभिनास थपलियालाई पनि अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय शेरचनले नेपाल एयरलाइन्सका ट्वीनेटर विमान चलाउँथे । तर, जागिर सुरु गरेको केही वर्षमै उनले राजीनामा दिएर छोडेका थिए । डिप्रेसनमा आफू लागूऔषध कारोबारमा लागेको प्रहरीसमक्ष उनले बताएका थिए । उनीहरुको साथबाट डालेक्सद्द–डिसी, नाइट्रोभेटलगायत लागूऔषध बरामद भएको थियो ।
उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट १ हजार १ सय ४० ट्याब्लेट, स्पामो प्रोक्स्भिन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद भएको थियो । त्यस्तै इस्पेक्टर शाहीको गाडीमा रहेको झोलामा ७ बोत्तल लागू औषध डायलेक्स–डीसी र ४६ ट्याब्लेट नाइट्रभेटसमेत बरामद ब्यूरोले बरामद गरेको थियो । साहसँगको कनेक्सन शाही देखिएपछि शाहीलाई व्यूरोले नियन्त्रणमा लिएको हो ।