free website hit counter

लुम्बिनी विकास बैंकको नाफामा तीन गुणा वृद्धि

beemaadmin
२०८३ श्रावण २१, बिहीबार

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। कर्जा असुलीमा सुधार र इम्पेयरमेन्ट (कर्जा नोक्सानी व्यवस्था) खर्चमा आएको ठूलो गिरावटका कारण बैंकको खुद नाफा तीन गुणाभन्दा बढी बढेको हो।

सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको २४ करोड ११ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०८.५० प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ कायम भएको छ।

बैंकको नाफा वृद्धिको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा आएको उल्लेखनीय कमी हो। अघिल्लो वर्ष ७७ करोड ८७ लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर १३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिलाई बलियो टेवा दिएको बैंकको वित्तीय विवरणले देखाएको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ६ रुपैयाँ ६५ पैसा रहेको ईपीएस बढेर २३ रुपैयाँ ४८ पैसा पुगेको छ।

लाभांश वितरण गर्ने आधार पनि बलियो बनेको देखिन्छ। गत असार मसान्तसम्म बैंकको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफासहित कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा रहेको छ, जुन अघिल्लो वर्ष ५ रुपैयाँ ९ पैसा मात्र थियो।

बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र जगेडा कोषसहित कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ कायम भएको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ। समीक्षा अवधिमा निक्षेप संकलन ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको छ। बैंकको कुल सम्पत्ति ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार