काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा ८६.१९ प्रतिशतले बढी हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ। अघिल्लो वर्षको २३ करोड ४५ लाख रुपैयाँबाट घटेर समीक्षा अवधिमा २३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड २३ लाख रुपैयाँ, खुद सञ्चालन आम्दानी ४७ करोड ४७ लाख रुपैयाँ तथा सञ्चालन मुनाफा २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
बैंकको नाफा वृद्धिमा १९ करोड ६९ लाख रुपैयाँको इम्पेयरमेन्ट चार्ज रिभर्सलले महत्वपूर्ण योगदान गरेको छ। साथै, निष्क्रिय कर्जा (एनपीएल) पनि उल्लेख्य रूपमा घट्दै १०.६५ प्रतिशतबाट ६.१५ प्रतिशतमा झरेको छ।
यद्यपि बैंकको रिटेन्ड अर्निङ अझै ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। वितरणयोग्य मुनाफा पनि सोही रकमले ऋणात्मक अवस्थामा छ। भने बैंकको रिजर्भ ३४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ।
व्यावसायिक विस्तारतर्फ बैंकले प्रगति गरेको देखिन्छ। असार मसान्तसम्म बैंकको कर्जा प्रवाह ५ अर्ब १ करोड ८३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ। निक्षेप संकलन पनि उल्लेख्य वृद्धि हुँदै ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
वित्तीय सूचकतर्फ बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ, तरलता अनुपात ३९.४१ प्रतिशत, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ४०.४८ गुणा तथा पूँजी कोष अनुपात (CAR) ११.२९ प्रतिशत रहेको बैंकले जनाएको छ।