free website hit counter

सरकारले खोज्यो निजी क्षेत्रको साथ

beemaadmin
२०७६ चैत्र ३, सोमबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने असरको न्यूनिकरणका लागि निजी क्षेत्रसँग सहकार्य र सहयोग गर्न सरकार तयार देखिएको छ । निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइस संक्रमणको कारण पर्नसक्ने आर्थिक समस्यासँग जुध्न सरकार र निजी क्षेत्र एक भएर अगाडि बढ्नु पर्ने बताएका हुन् । खासगरी महामारीको समयमा उत्पन्न हुन सक्ने आपूर्ति समस्या र दैनिक उपभोग्य बस्तुका सहज विक्री वितरणको व्यवस्था मिलाउन मन्त्री खतिवडाले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका पदाधिकारीसँग आग्रह गरे ।

सो छलफलमा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एसोसिएसनलगायतका प्रतिनिधिको सहभागिता थियो ।

सो छलफलमा मन्त्री खतिवडाले निजी क्षेत्रले सामना गरेको समस्या समाधान गर्नको लागि सरकारले आवश्यक सबै प्रकारका सहयोग गर्ने आश्वासन दिएका थिए । मन्त्री खतिवडाले भूकम्प र नाकाबन्दीको भन्दा पनि ठूलो असर अहिले देखिएको भन्दै सामना गर्न सबै पक्ष तयार तथा एकजुट हुनुपर्ने धारणा राखेका थिए । छलफलमा सहभागी नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समस्या समाधानको लागि सरकार तथा निजी क्षेत्र कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको जानकारी दिए । सरकारले निजी क्षेत्र, व्यापारी र बैंकर्सलाई कोरोनाको संकटमा सहयोग गर्न तयार रहन आग्रह गरेको बताए ।

सम्बन्धित समाचार