काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ। त्यसपछि सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरिएको हो।
कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। कुल निष्काशनमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ भने ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
त्यसैगरी, १७ हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो, जसको कुल मूल्य ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
रेटिङका आधारमा, केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर–एनपी डबल बी माइनस’ इश्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।