काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।
त्यसैगरी, सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत गरिने कार्यक्रम रहेको छ।
साधारण सभा प्रयोजनका लागि संस्थाले साउन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार साउन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन तथा मतदान गर्न पाउनेछन्।