काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६९३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४६६ थियो।
यस अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ। साउनमा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको थियो।