free website hit counter

सात बुँदे घोषणापत्र जारी गर्दै प्रेस संगठन उपत्यका प्रदेश भेला सम्पन्न

beemaadmin
२०७६ फाल्गुन २५, आईतवार

ललितपुर । सात बुँदे घोषणापत्र जारी गर्दै प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटिको प्रथम भेला सम्पन्न भएको छ । ललितपुरमा आयोजित भेलाले सात श्रमजीवी पत्रकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठनिक एकता कायम गर्नुपर्ने तथा पत्रकारको नियमित प्रशिक्षण आवश्यकताअनुसार सञ्चालन गर्न दबाव दिने निर्णय समेत गरेको छ ।

यसैगरी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डताका पक्षमा दृढतापूर्वक उभिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका पक्षमा आफ्नो तर्फबाट आवश्यक योगदान पुर्याउने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहितको विकास र समृद्धिको यात्रालाई रचनात्मक सुझावसहित सघाउने, काठमाडौँ, भक्तपुर र ललितपुरको थप विकास, शहरीकरण र सौन्दर्यीकरणका साथै सांस्कृतिक पक्षहरुको संरक्षण र विकासका लागि सम्बन्धित जनप्रतिनिधि, निकाय र पक्षलाई भेलाले विशेष आग्रह गर्ने घोषणापत्रमा रहेको छ ।

घोषणापत्रमा विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्बन्धित सबै पक्षमा अपिल गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन्। प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माणको आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका छन्। यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने उनले बताए ।

यसैगरी पत्रकार क्रियाशील, अध्ययनशील, जिम्मेवार हुनुपर्नेमा जोड दिँदै तथ्य र वस्तुगत कुराहरुको आत्मसात् गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको धारणा ब्यक्त गरे। अध्ययनबाट नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा उनको जोड थियो ।

सम्बन्धित समाचार