काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । मर्जरको प्रकृयामा रहेका यी दुई जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका हुन् । कम्पनीहरुलाई अन्तिम स्वीकृति दिएका हौं, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी बराबर हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ ।
हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।