काठमाडौं । यो साता सुन महंगिएको छ । साताभरजसो नै सुनको भाउ बढेको छ। आईतबारको तुलनामा शुक्रबारसम्म सुन तोलामा एक हजार ५०० रूपैयाँले वृद्धि भएको हो । आईतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँ कायम रहेको सुनको मूल्य साताको दोश्रो दिन देखि साताको पछिल्लो कारोबार भएको दिनसम्म बढि नै रह्यो । सुनको मूल्य शुक्रबारसम्म बढेर प्रतितोला एक लाख १९ हजार ५०० रूपैयाँ पुग्यो ।
नेपाली बजारमा यस साता चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताभरमा चाँदी तोलामा १५ रूपैयाँले महंगिएको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँ रहेको थियो । त्यसपछि, चाँदीको मुल्य सोमबार र मंगलबार बढेको थियो । मंगलबार प्रतितोला एक हजार ४२० रुपैयाँ पुगेको चाँदीको भाउ बिहीबार घटेर प्रतितोला एक हजार ४१० रूपैयाँमा झरेको थियो । तर आज फेरि चाँदीको भाउ बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो साता विश्व बजारमा सुनको मुल्यमा वृद्धि भएकोले नेपाली सुन बजारमा सुन महंगिएको हो । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मुल्य बढेको छ । यो बर्ष मुल्यले थप नयाँ उचाई लिन सक्ने बिश्लेषकहरुको अनुमान छ ।
इजरायल र हमासबीच युद्धविराम हुने संकेतसँगै सुनको भाउ उच्च स्तरबाट केहि तल मात्र छ । सुरक्षित लगानी र बजारको बाहिरी शक्तिका कारण सुनको भाउ बढ्नुलाई बल मिलिरहेको छ । कमजोर अमेरिकी डल र ट्रेजरी यिल्डको गिरावटलाई पनि कारण मानिएको छ । शुक्रबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक डलरले बढेर २ हजार ५५ डलर बराबरमा कारोबार भइरहेको छ । चाँदी भने सामान्य घटेर प्रतिअउन्स २३ डलरमा खरिदबिबक्री हुँदैछ ।