काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरुले बदमासी नगरुन् र व्यवसायलाई स्वस्थ प्रतिस्पर्धाका आधारमा अघि बढाउन् भनेर स्थलगत निरीक्षण गर्दैछ । आज र भोलि टोली बनाएर सबै बीमककहाँ पुगी क्लोजिङ कारोबार र व्याकडेटमा पोलिसी बिक्री भए नभएको जानकारी लिने भएको छ । गत आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क, दाबी भुक्तानी, कर्मचारी विवरण, सफ्टवेयर प्रणाली लगायतबाट विवरण टिपोट गर्ने छ । आज टिपोट गरिएका विवरणमा केहि तलमाथि भयो भने प्राधिकरणले सजिलै थाहा पाउने छ । कम्पनीहरुले टार्गेट पुरा गर्ने बहानामा आर्थिक वर्ष समाप्त भएको एक महिनासम्म पनि पोलिसी इन्ट्रि गर्ने गलत अभ्यास थियो । त्यसैले गत वर्षदेखि आर्थिक वर्ष समाप्त भएको अन्तिम दिनको १२ बजे भन्दा पछाडि कुनै पनि पोलिसी इन्ट्रि गर्न नपाउने व्यवस्थाको सुरुवात गरेको थियो । यसले गर्दा यस वर्ष बीमा कम्पनी र अभिकर्ताहरु सजग थिए । अनुगमनमा खटिएका एक अधिकारीका अनुसार यस वर्ष जीवन बीमा व्यवसायमा धेरै नै गिरावट हुने देखिएको छ । नविकरण बीमा शुल्कमा सामान्य अवस्था देखिए पनि प्रथम बीमा शुल्क आर्जन चौपट देखिएको छ । बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको अन्तिममा एजेन्सी म्यानेजरलाई निरन्तरता दिलाउन हदैसम्मका अभ्यास गर्ने गरेका थिए । बीमा कम्पनीका कर्मचारीहरु नै अप्रत्यक्ष रुपमा बीमा व्यवसायमा जोडिने भएकाले यस्ता अभ्यासमा टेवा पुग्दै आएको थियो । तर यस वर्ष आर्थिक मन्दी र आम सर्वसाधारण सँगको तरलता कमजोर हुँदा व्यवसायमा ठुलो असर पर्यो । निर्जीवन बीमा व्यवसाय बीमितको आवस्यकतामा भर पर्ने भएकाले निर्जीवन बीमा कम्पनीहरुका कर्मचारीमा खासै ठुलो हतास थिएन । तर निर्जीवन बीमामा पनि उधारोमा बीमा हुने, प्रिमियम धेरै देखाउन कागजमा मात्रै बीमा हुनेसम्मका अभ्यास हुँदै आएका छन् । उधारोमा बीमा गर्ने अभ्यास लगभग हटेको बीमकहरु बताउछन् ।