काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमा दाबीवापत थप १ अर्ब ८९ करोड रुपैयाँ सोधभर्ना उपलब्ध गराएको छ। बोर्डले कूल ३४७ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सेवा उपलब्ध गराएवापत यो रकम उपलब्ध गराएको हो । बोर्डका अनुसार बैशाख २६ गते बसेको बोर्डको दाबी भुक्तानी समितिको बैठकले पूर्ण तथा आंशिक दाबी, पेश्की र बेरूजु फर्छ्यौट समेत गरी यो रकम उपलब्ध गराउने निर्णय गरेको थियो । बोर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा झण्डै १० अर्ब ४४ करोड रूपैयाँ दाबी भुक्तानी गरिसकेको छ। बोर्डले चालु आर्थिक वर्ष भित्र विभिन्न ७ किस्तामा यो रकम सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो । यसअघि बोर्ड संञ्चालक समितिको चैत २ गते बसेको बैठकले ३४७ वटा सेवा प्रदायक संस्थाहरुलाई एक अर्ब ६३ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको थियो । बोर्डले यसअघि चालु आर्थिक वर्ष २०७९।८० मा २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, ६६ करोड ८१ लाख रुपैयाँ, १ अर्ब ७ करोड ६ लाख रुपैयाँ, १ अर्ब १८ करोड ६ लाख रुपैयाँ, १ अर्ब ३२ करोड ६५ लाख, १ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको थियो। यसअघिका दाबी भुक्तानीहरूमा सर्वाधिक रकम पाउने दश अस्पतालको सूचीमा दरिने गरेको झापाका व्यापारी दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालले यसपटक जम्मा २३ लाख १० हजार रूपैयाँ दाबी भुक्तानी पाएको छ। बि एण्ड सी अस्पतालले मात्र बोर्डबाट चालू आर्थिक वर्षको गत फागुन सम्ममा मात्र २५ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी लिई सकेको थियो।