free website hit counter

होटल व्यवसायी महासङ्घको अध्यक्षमा भण्डारी

beemaadmin
२०८२ चैत्र २९, आईतवार

काठमाडौँ । होटल व्यवसायी महासङ्घ नेपालको पाँचौँ महाधिवेशनबाट टीआर भण्डारी (शंकर) निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्। गण्डकी प्रदेशको पोखरामा सम्पन्न महाधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

महाधिवेशनबाट सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ। नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै महासङ्घलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले पर्यटन तथा होटल क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्ने बताए।

महासङ्घले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीचको समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार