काठमाडौं । विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पन्ध्र दिने अल्टिमेटम दिइएको छ । सोमबार संसदीय समिति अन्तर्गतको विकास तथा प्रविधि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । विविध कारणवस समस्यामा परेका र जिर्ण बनेका पुलहरुको यथार्थ विवरणसहित समस्या समाधानको उचित विकल्प दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरेको हो ।
मन्त्रालयले समितिमा पेस गरेको कूल निर्माणधीन २ हजार ९१ पुलहरुमध्ये ९६ पुलहरु ठेकेदारहरुको कारण, ३७ वटा संस्थागत कार्यालयका कारण र ५१ वटा पुलको आयोजना काबु बाहिर रहेको बताएको थियो । मन्त्रालय तथा विभागबाट यस्तो तथ्याङ्क आएसँगै समितिले यस्तो समस्या कुन–कुन क्षेत्र र कहाँ कसरी आएको हो सोबारे स्पष्ट हुन र समस्या समाधनको उचित विकल्प दिन भनेको छ ।
समितिले बजेट अभावमा अलपत्र परेका पुलहरुको समेत एकिन गरेर सम्बन्धित अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगसँग आवश्यक समन्वयन गरी स्रोत जुटाएर सम्पन्न गरेर मात्र अन्य नयाँ आयोजनाहरु अघि बढाउन भनेको छ ।