काठमाडौं। भारतीय सञ्चारमाध्यमको प्रचारले अतिरञ्जनाको पराकाष्ट नाघेपछि सरकारले ती सञ्चारमाध्यमलाई नेपालमा बन्द गर्ने निर्णय गरेको छ । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्। बिहीबार रातिबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको हो । मेगा म्याक्स टिभीका उपाध्यक्ष धुव्र शर्मा भन्छन्, पछिल्ला दिनमा भारतीय च्यानले प्रशारण गरिरहेका सामाग्री नेपालको सम्प्रभुतामाथिकै आक्रमणका रुपमा बुझेका छौं। त्यसैले हामीले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेका हौं। उनले अपरेटरहरुले आफूखुशी सल्लाह गरेर च्यानल बन्द गरेको बताए। उनले भने, अहिले च्यानल बन्द गर्ने सेवा प्रदायकहरुको सेवा नेपालका करिब ४० लाख मानिसलाई कभर गर्छन्। लगभग सबै ठूला अपरेटरले च्यानल बन्द गरेका छन्। यदि कसैले गरेको छैन भने पनि शुक्रबारसम्म बन्द गर्छन्। नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले लगातार नेपालविरुद्ध सामाग्रीहरु प्रशारण गरिरहेका छन्। पछिल्लो पटक प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक परपोर्ट प्रशारण गरेका थिए। यसअघि पनि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालमा भारतीय च्यानल बन्द गरिएको थियो।
भारतीय मिडियाप्रति थापाको आक्रोश
नेपालमा भारतीय सञ्चार माध्यमको आलोचना भइरहेका बेला नेपाली काँग्रेसका नेता गगन थापाले भारतीय सञ्चारमाध्यमहरुको कार्यक्रममा सहभागी हुन नहुने बताएका छन्। उनले अबदेखि उनीहरुको कार्यक्रममा सहभागी नहौं भनेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ। त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।