काठमाडौं । कोरोना कहर र सामाजिक दुरीका कारण स्कुल तथा कलेजहरु सञ्चालनमा आउन सकेका छैनन् । त्यसैले ठूला र सुविधासम्पन्न स्कुलहरुले डिजिटल प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालनमा ल्याएका छन् । तर यो सबैका लागि सहज भने छैन । त्यसका लागि इन्टनेटको पहुँच, स्मार्ट फोनको उपलब्धता पनि नहुन सक्छ । भारतको केरला राज्यमा एक छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी छन् । कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले आत्महत्या गरेकी हुन् । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । अनलाइन कक्षामा सहभागी हुन स्मार्टफोन परिवारले उपलब्ध गराउन नसकेपछि ति छात्राले आत्महत्या गरेकी हुन् । मृतक छात्रा बाबुआमा बालाकृष्ण र शिबासँग केरला भलन्चरी नजिक मंगेरी क्षेत्रमा बसोबास गर्दै आएकी थिइन् । दलित परिवारकी ती बालिका गभर्मेन्ट हायर सेकेण्डरी स्कूल, इरिमविलियमकी विद्यार्थी थिइन् । बालिका गत साताको सोमबार साँझ ४ बजेदेखि हराएकी थिइन्। त्यसको केही समयपछि घरभन्दा १ सय मिटर टाढा उनको शब भेटिएको थियो ।