काठमाडौं । एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ ५० पैसाको १० कित्ता बराबर ६.६ कित्ता अर्थात ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताब समेत पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि भइ २ अर्ब ४२ करोड पुग्नेछ ।
हकप्रदपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही अनुसार जारी तथा चुक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउनका लागि कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि प्रारम्भिक अनुमति प्रदान गरिसकेको छ । हकप्रद सेयर निष्काशन पश्चात पनि कम्पनीलाई ८ करोड रुपैयाँ अपुग हुन्छ । उक्त रकम चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिएर पुर्याउनेछ ।