काठमाडौं । बैंकिङ क्षेत्रमा लामो र दक्ष अनुभव संगालेका तर स्वतन्त्र रुपमा कार्य गर्न रुचाउने ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली बाहिरिएका छन् ।
नेपाल राष्ट्र बैंक, ग्लोवल आईएमई बैंक जस्ता ठूला संस्थामा अनुभव संगाल्दै ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका ज्ञवालीले सो बैंकमा आफ्नो क्षमता समेत प्रदर्शन गरेका थिए ।
बैंक संचालक समितिसँगको असहमतिका कारण ज्ञवालीले राजिनामा दिएको बताइएको छ । बैशाख १५ मा उनको कार्यकाल सकिँदैछ तर कार्यसमितिले कार्यकाल नथप्ने भएपछि उनले राजीनामा दिएका हुन् । ज्ञवालीको राजिनामा वैशाख १५ गते देखि लागू हुनेछ । प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल पुरा नहुँदै असन्तुष्टि जाहेर गर्न ज्ञवालीले राजिनामा बुझाएका हुन् । ज्ञवाली बाहिरिएसँगै बैंकको कायममुकायम प्रमुख कार्यकारीको जिम्मेवारी तत्कालका लागि बैंकका नायव महाप्रवन्धक पारसराज कंडेललाई तोकिएको बैंकले जनाएको छ । बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको सेवा अवधि २०७७ साल बैशाख १५ गते देखि समाप्त हुने भएपछि बैंकका नायव महाप्रवन्धक पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
ज्ञवालीले बैंक सम्हालेको चार वर्षको अवधिमा बैंकका धेरै सूचकहरुलाई उकालो लगाएका छन् । नाफा वृद्धि पनि २५४ प्रतिशत, शाखा विस्तार ३३७.५ प्रतिशतले वृद्धि गराएका थिए भने पुँजी २५७ प्रतिशतले वृद्धि भएको छ । निक्षेप ३५३ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । कर्जा ३८३ प्रतिशतले वृद्धि भएको छ । कर्मचारी ३०० प्रतिशतले वृद्धि भएको छ । उनकै कार्यकालमा तीन वटा क्षेत्रीय स्तरका विकास बैकहरु प्राप्ति तथा मर्जर प्रक्रिया सफलता पूर्वक सम्पन्न भएका थिए ।