काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्दलाई डडेलधुरा जिल्ला अस्पतालबाट पनि अन्यत्र लैजान लागिएको विरोधमा उनका समर्थकहरुले विरोध गर्दै आएका छन् । बजार क्षेत्रको सडकमा टायर बालेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । डा. केसीका समर्थकहरुको प्रदर्शनकै कारण डडेलधुरा बजार सोमबार बिहानैदेखि बन्द छ ।
अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् । यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो । अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि डा. केसीलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा आएको थियो । डा. केसीले भने आफू स्वस्थ भएको भन्दै डडेलधुरा छाडेर अन्त नजाने बताएका छन् । सोमबार बिहान नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले देश कालापानी र लिपुलेकका विषय एकजुट भइरहेको भन्दै डा. केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । तर, केसीले आफूले अनशन नतोड्ने बताएका छन् ।