काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह नयाँदिल्ली गएका हुन्।
प्रधानमन्त्री शाहलाई मन्त्रीद्वय विराजभक्त श्रेष्ठ र सुदन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
शाह नेपाल वायुसेवा निगमको एयरबस ए३२० विमानमार्फत दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहसहित ३५ सदस्य सहभागी छन्।
प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ। दिल्ली पुगेपछि उनले साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। ताजमहल होटलमा हुने उक्त भेटबाहेक आइतबारका लागि अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाट तथा विभिन्न औपचारिक कार्यक्रम तय भएका छन्।
कार्यक्रमअनुसार सोमबार बिहान १० बजे प्रधानमन्त्री शाहको भारतको राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत हुनेछ। त्यसपछि उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता हुनेछ। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ।
भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदानप्रदान हुनेछ। त्यसलगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
त्यसैगरी, सोमबार अपराह्न ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्।
दुई दिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल फर्किनेछन्। उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत साँझ ६ बजेर ३५ मिनेटमा स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ।
नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने जनाइएको छ।