काठमाडौं । नेपाल र चीनबीचको औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।
वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे ।
प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।
व्यापार सहजीकरणका लागि संयन्त्र
चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा दुई देशबीच वाणिज्य व्यापार सहजीकरण गर्न संयन्त्र बनाउने सहमति भएको छ । नेपाल र चीनका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी संयन्त्र गठन हुने समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
एक महिनाअघि नेपाल आएको चिनीयाँ बाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिबीच यस्तो संयन्त्र गठन गर्नेबारे सहमति बनेको थियो ।
बाणिज्य व्यापारका सम्बन्धमा छलफल गर्न स्थायी संयन्त्र नहुँदा मुद्धाहरु प्रभावित हुने गरेको भन्दै दुवै देशले उच्चस्तरीय स्थायी संयन्त्र गठन गर्न आन्तरिक गृहकार्य थालेका थिए । संयन्त्र गठनपछि नेपाल र चीनबीचको वाणिज्य व्यापारका मुद्धाहरु उच्चस्तरीय एकल बिन्दुबाट हल हुने वाणिज्य मन्त्रालयले छ ।