काठमाडौं । मिर्गौलाले राम्रोसँग काम नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताइएको छ । शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेनुभएका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गर्दै मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको जानकारी उहाँले दिनुभयो ।
केही रिपोर्ट आउन बाँकी रहेकाले त्यसपछि डाक्टरहरुले आगामी यात्राको फाइनल गर्ने कुरा पनि प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गर्नुभएको थियो । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका ओली त्यसपछि १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको थियो भने २७ साउनमा स्वदेश फर्किनुभएका उहाँ ५ भदौमा फेरि सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको एन्टीबडी निकालिएको थियो ।
२० भदौमा स्वदेश फर्किनुभएका उहाँको स्वास्थ्यमा फेरि समस्या देखिएछि कात्तिक २ मा ग्राण्डी अस्पताल पुगी क्याथेटर राखिएको थियो । बुधबार फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्नुभएका ओलीलाई आकस्मिक रुपमा डायलासिस गरिएको थियो ।