काठमाडौं । सर्लाली जिल्लामा रहेको बलरा नगरपालिकाले विपन्न नागरिकलाई राहत वितरण कार्यलाई प्रभावकारी बनाउन विशेष कार्ययोजना ल्याएको छ । लकडाउनलगत्तै विपन्न नागरिकहरुलाई राहत वितरण गर्न खोजिए पनि तथ्यांक संकलन, राहत वितरण कार्यलाई प्रभावकारी बनाउन संंयन्त्र गठन र आर्थिक स्रोत परिचालनका लागि समय लागेका कारण बुधबारदेखि राहत वितरण कार्य शुरु भएको नगरपाकिालका प्रमुख अभयकुमार सिंहले बताएका छन् ।
सिंहका अनुसार, राहत वितरण कार्यमा कोही नछुटुन्, कोही नदोहोरिउन भन्ने कार्यमा नगरपालिका सचेत छ । नगरपालिकाका ११ वडामा करिब ६ हजार नागरिक रहेको पाइएपछि नगरपालिकाले राहत वितरण शुरु गरेको हो । प्रदेश सरकारको १५ लाख, नगरपालिकाको आफ्नै स्रोतबाट १८ लाख गरी ३३ लाख रुपैयाँको राहत कोष स्थापना गरी विपन्न नागरिकहरुलाई राहत वितरण गर्ने कार्यलाई नगरपालिकाले अगाडि बढाएको छ । प्रति वडा ३ लाखका दरले दामासाहीले ११ वडा वडालाई बजेट विनियोजन गरिएको र वडा मार्फत् नै राहत वितरण शुरु गरिएको सिंहले बताए ।
नगरपालिकाले राहत वितरण कार्यलाई प्रभावकारी बनाउन अनुगमन गर्ने भएकोछ । नगरपालिकाभित्र बाहिरबाट प्रवेश गर्ने नागरिकहरुका लागि शुरुवातमै क्यारेन्टाइन स्थापना गरेको नगरपालिकाभित्र नगर नेतृत्वको दूरदर्शी कार्य र चेतनामूलक कार्यक्रमका कारण अहिलेसम्म बलरा नगरपालिका कोरोना संक्रमणबाट मुक्त छ ।