काठमाडौं । राहत प्याकेजको अपेक्षा गरिरहेका व्यवसायीमाथि सरकारले करको ताकेता गर्दा सिंगो व्यवसायी आक्रोशित भएका छन् । लकडाउनका कारण मुलुक ठप्प छ, व्यापार व्यवसाय नचलेको यति लामो समय बितिसक्दा पनि सरकारले करका लागि लाजै नमानी ताकेता गरेको छ । कर ताकेताको विरोधमा व्यवसायी मात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरेका छन् । कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् । अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको तथा पीसीआर परीक्षण गरेर साना ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएको भन्दै उनले सरकारको आलोचना गरेका छन् । कांग्रेस सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ्कन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न समेत सरकारसँग माग गरेका छन् ।