काठमाडौं । लगातारको लकडाउनका कारण बीच परेका मजदुरहरु हिँडैर गन्तव्यमा जान थालेपछि र बीच बीचमा सुरक्षाकर्मीको अवरोध सिर्जना भएका समाचार लगातार आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा निर्णय लिन उच्चस्तरीय कोरोना नियन्त्रण समितिमा आवद्ध मन्त्रीहरुलाई केही समयअघि बालुवाटारमा बोलाएका छन् । मन्त्रीहरु र प्रधानमन्त्रीबीच लकडाउनमा फसेका मजदुरहरुलाई कसरी गन्तव्यमा पुर्याउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । शुक्रबार दिउँसो २ बजे उच्चस्तरीय कोरोना नियन्त्रण समितिको बैठक राखिएको भए पनि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाएपछि बैठक केही समयपछि बस्ने भएको छ । प्रधानमन्त्रीले मजदुरका सन्दर्भमा निर्देशन दिएपछि उक्त निर्देशनलाई बैठकको एजेन्डा बनाएर आजै निर्णय लिने तयारीमा उच्चस्तरीय समिति रहेको बताइन्छ । प्रदेश ५ सरकारले आफ्नो प्रदेशमा भित्रिएका नागरिकहरुलाई खानेबस्ने व्यवस्था सहित गन्तव्यमा पुर्याउने घोषणा गरेपछि केन्द्र सरकार यो निर्णय लिन बाध्य हुन पुगेको छ । सामाजिक सञ्जाल, राजनीतिक दल, नागरिक समाज सबैतिरबाट मजदुरको बिल्लचीका विषयमा सरकार संवेदनशील नबनेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री र समितिमा आवद्ध मन्त्रीहरु गम्भीर बन्न पुगेका हुन् ।
मजदुरकाे बिचल्लिका विषयमा पूर्व श्रममन्त्री गाेकर्ण विष्टले सामाजिक सञ्लालमा लेखेका छन्, सञ्चार माध्यमहरूमा विगत केही दिन यता श्रमिकका समस्याहरूको बारेमा विभिन्न समाचारहरू आइरहेका छन् । यस्तो अवस्थामा कुन कुन क्षेत्रमा काम गर्ने श्रमिकहरू बढी जोखिमपूर्ण अवस्थामा छन् – त्यसको विवरण तयार गर्न, उनीहरूले काम गरिरहेको सम्बन्धित क्षेत्रलाई समेत जिम्मेवार बनाउन, श्रमिकहरूको बसोबास रहेको सम्बन्धित स्थानीय तह मार्फत खाने बस्ने कुराको भरपर्दो व्यवस्था मिलाउन र बाटोमा अलपत्र परेका श्रमिकहरूलाई सहयोगको उचित प्रबन्ध गर्न सरकारले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनु जरुरी छ ।