काठमाडौं । सरकारले लगाएको लकडाउन वैशाख १५ गते रातिबाट सकिँदैछ । अब लकडाउनलाई नै निरन्तरता दिने कि अन्य उपाय अपनाउने भन्ने विषयमा उच्चस्तरीय समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले कोरोना भाइरस नियन्त्रणमा सरकारी प्रयास सही भएको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण नेपालमा संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने राय समितिको छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्को बैठकबाटै हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।
शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । उत्पादन, ढुवानी र वितरणलाई सहज बनाउने, हिमाली जिल्लाहरूमा खुला गर्ने लगायतका सुझाव पनि बैठकमा आएको थियो ।