काठमाडौं । लगातार लकडाउन गर्दै कोरोना संक्रमण फैलिन नदिने प्रयास जारी रहे पनि नेपालमा झन पछि झन कोरोना संक्रमित थपिने क्रममा छन् । सरकारले पछिल्लो पटक थपेको लकडाउन वैशाख २५ गतेबाट समाप्त हुँदैछ । लकडाउनको म्याद फेरि पनि थप्ने तयारी गरेको छ । पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्न लागिएको गृह मन्त्रालय स्रोतले बताएको छ । आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने तयारी भइरहेको बताइएको छ । कोरोना नियन्त्रणको उत्तम विकल्प नै लकडाउन भएको निश्कर्ष विज्ञहरुले निकालेका कारण र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएपछि लकडाउनको विल्पक अहिलेका लागि नदेखिएको बताइएको छ ।