काठमाण्डौ । नियामक निकाय बीमा समितिले समेत आगामी आर्थिक वर्षका लागि महत्वपूर्ण नीनिगत व्यवस्थासहित नीति तथा कार्यक्रम बनाउने तयारी थालेको छ । बजेटले नै एकतिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याउने घोषणा गरेपछि यस्तो तयारीमा समिति पुगेको हो । बीमा कम्पनीहरुको पूँजीको आकार र कामको दायरा बढाउने विषयमा सबै एकमत देखिएका छन् । नीति तथा कार्यक्रमार्फत लघु बीमा व्यवसायका लागि कम्पनीहरुलाई लाइसेन्स खुल्ला गर्ने, बीमा कम्पनीहरुमा तालिका नै बनाएर कडा स्थलगत सुपरीवेक्षण गर्ने लगायतका बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको ड्राफ्ट कोर्न थालिएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिएका छन् । निर्जीवन र जीवन बीमा कम्पनीको पूँजी वृद्धि समयको आवश्यकता रहेको भन्दै त्यसका लागि समितिले विभिन्न विकल्पहरुमा जानसक्ने नीतिबारे अध्ययन थालेको छ । समितिले विशेष गरी निर्जीवन बीमा कम्पनीहरुमा मर्जरलाई प्राथमिकता दिएको छ । मर्जरमा जान कुनै अप्ठ्यारो भएका कम्पनी, ठूलो परिमाणमा बोनस सेयर वितरण गर्न नसक्ने कम्पनीलाई उसको वित्तीय अवस्था हेरेर हकप्रद निश्कासनको स्वीकृति समेत दिन बीमा समिति तयार देखिएको छ ।