free website hit counter

सरकारले रकम नदिँदा कोरोना बीमा भुक्तानी रोकियो

beemaadmin
२०७८ जेष्ठ ९, आईतवार

काठमाडौँ । सरकारको दायित्व अन्तर्गत सरकारले दिनुपर्ने रकम निदिएपछि कोरोना बीमको भुक्तानी रोकिन पुगेको छ । स्वास्थ्य उपचारमा सहज होला भनेर कोरानो बीमा गएका बीमित रकम भुक्तानी नहुँदा मारमा परेका छन् भने समग्र बीमा व्यवसायको विश्वसनियतामाथि पनि प्रश्न उठेको छ । कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र बनिरहेका बेला बीमा कम्पनीले कोरोना बीमाको दाबी भुक्तानी रोकेका हुन् । कम्पनीले दाबी भुक्तानी नदिँदा नयाँ–पुराना सबै बिमितले रकम पाउन सकेका छैनन् । कोभिड संक्रमित भएपछि आफूले पाउनुपर्ने बीमा रकम नपाउँदा औषधोपचार गर्न अप्ठ्यारो भएको मात्र नभई बिमाप्रतिको विश्वास नै गुमेको बिमितको गुनासो रहेको छ । बिमा कम्पनीहरूले भने सरकारबाट रकम नआउँदा दाबी भुक्तानी रोक्नुपरेको बताएका छन् । नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने दाबी भुक्तानी रोकिएको बारे आफू जानकार नभएको बताएका छन् । सरकारबाट आउनुपर्ने रकम नआएकाले कम्पनीलाई अप्ठ्यारो परेको हुनाले त्यस्तो भएको हुनसक्ने भन्दै यो समस्या समाधानका लागि आफूले पटकपटक अर्थ मन्त्रालयसँग कुरा गरिरहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटपछि मात्र बीमा कम्पनीहरूलाई पैसा दिने तयारीमा सरकार रहेको कुरा अर्थसचिव शिशिरकुमार ढुंगानाले बताएका छन् । कोरोना बिमा भुक्तानीका लागि कम्पनीहरूले गत चैत १५ मा बिमा समितिमार्फत सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेका हुन् । त्यति बेलासम्म परेको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बिमा कम्पनीले उक्त रकम मागेका हुन् । रकम मागेको डेढ महिनाभन्दा धेरै भइसक्दा पनि अर्थ मन्त्रालयले पैसा दिएको छैन ।

सम्बन्धित समाचार