जनकपुर । समाजमा अपराध पनि कस्ता कस्ता हुन्छन् ? बहिनीसँगको सम्बन्धले दिदीको हत्या । धनुषामा एक पुरुषले सालीसँगको सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । मिथिला नगरपालिका ९ स्थित लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरेका हुन् । आरोपित चौहानले २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीले आफ्नी बहिनीसँग अबैध सम्बन्ध राखोको आरोप लगाउँदै मानसिक यातना दिएपछि आवेशमा आएर उनले बिणाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ । चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर शलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले ४ दिनपछि उत्खनन् गरेर निकालेको थियो । बैशाख १८ गते बिहीबार साँझ करिब साढे ५ बजेको समयमा विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा शल बेरेर उसको हत्या गरी शवलाई जंगलमै गाडेको कुरा चौहानले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
बिणाको हत्या गर्नुपूर्व चौहानले खाल्टो खनेर तयार पारेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या गर्नुअघि खाडल खनेर तयार बनाएको इलाका प्रहरी कार्यालय ढल्केवरका ईन्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले बताए । उनले भने, ‘विणालाई जंगलमा लगेर हत्या गरि खाडलमा गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ । गाडी चालक रहेका चौहानले बैशाख १९ गते बिहान पत्नी हराएको भन्दै प्रहरी समक्ष मौखिक जानकारी गराएका थिए । विगत ५ वर्षअघि विणासँग अन्तरजातिय विवाह गरेका उनलाई घरमा बुवाआमाले बस्न नदिएपछि ससुरालीको घरछेउमा घर बनाएर बस्दै आएका थिए । ‘चौहानको करिव एक वर्षदेखि कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम रहेकोले पत्नीको मानसिक यातना सहन नसकेर उसले विणाको हत्या गरेको देखिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरुका ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् ।