काठमाडौं । जीवन बीमा बजारमा आफूलाई अब्बल सावित गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा भने ८७.३५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस इन्स्योरेन्सले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १४।४१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १५.५९ प्रतिशत र कुल खर्च ११.९३ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ९० पैसा बढेर ९ रुपैयाँ ५३ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.४० गुणा रहेको छ। ३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती जगेडामा १६ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६३ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ।