काठमाडौं । तपाईं निर्माण कार्य गरिरहनु भएको छ भने तपाईंको लागत बढ्ने भएको छ । लकडाउनले उत्पादन र बिक्री कम भइरहेको बेला सिमेन्टको मूल्य बढ्ने भएको हो । प्रतिस्पर्धाको कारण विगत २ वर्षदेखि घट्दै आएको सिमेन्टको मूल्य यसवर्ष सरकारले जारी गरेको लकडाउनका कारण क्लिंकरको अभाव भएकोले मूल्य बढ्ने भएको हो । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुंगाको व्यवस्था समयमै गर्न नसकिएको कारण सिमेन्टको मूल्य बढ्ने उद्योगीले बताएका छन् । चुनढुंगाको ढुवानी फागुनदेखि जेठ महिनासम्मा हुने हुने र सोही समयमा सरकारले लकडाउन गरेका कारण समस्या भएको उद्योगीको भनाइ छ । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो । वर्षायाममा चुनढुंगा उत्खनन् गरेर उद्योगसम्म पुर्याउन सक्ने अवस्था नरहेका कारण मूल्य बढ्न लागेको हो । चुनढुंगा उत्खनन् गर्ने समय पूरै लकडाउन भएका कारण उद्योगहरु अहिले संकटमा छन् । हाल नेपालमा सिमेन्टको उत्पादन मूल्य ओपीसी र पीपीसीबीच प्रतिबोरा करिब सय रुपैयाँको फरक छ । उद्योगबाटै खरिद गर्दा एक बोरा पीपीसी सिमेन्टको मूल्य ६ सय २५ रुपैयाँदेखि ६ सय ६० रुपैयाँसम्म पर्छ । ओपीसी सिमेन्टको उद्योगमै पर्ने मूल्य प्रतिबोरा ७ सयदेखि ७ सय ७० रुपैयाँसम्म रहेको छ ।