free website hit counter

हिमालयन एभरेष्टले अघि बढायो पोखरा दुर्घटनाको बीमा भुक्तानी प्रक्रिया

beemaadmin
२०७९ माघ ३, मंगलवार

काठमाडौं । मान्छेको जीवन कुनै पनि शर्तमा पैसासँग तुलना हुँदैन र गर्न सकिँदैन । तर जीवनको जोखिम भने बीमाले बहन गरेको हुन्छ । व्यक्तिको जीवन कुनै पनि बेला जान सक्छ तर उसको आश्रित परिवारको जीवन सहज होस् भनेर बीमा गर्ने गरिन्छ । पोखरामा माघ १ गते आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाए । यतिको एटीआर–७२ विमान दुर्घटनामा पर्दा ६८ जना यात्रुसहित ४ जना क्याबिन क्रुले समेत ज्यान गुमाएका हुन् । यससँगै, उक्त विमान दुर्घटनामा परेर ज्यान गुमाउने यात्रु, परिचारिका र पाइलटको बीमा बापतको रकम भुक्तानीको प्रक्रिया अघि बढेको छ । यति एयरलाइन्सले हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको थियो । कम्पनीले दुर्घटनामा परेको उक्त विमान हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको कम्पनीका प्रबन्ध कार्यकारी प्रमुख कमल गौतमले जानकारी दिएका छन् । उनले भने, ‘कम्पनीले विमानको बीमा हिमालयन एभरेस्टमा गरेको थियो । बीमा सम्झौताअनुसार जहाजको दुर्घटना भएसँगै बीमा भुक्तानी प्रक्रिया अघि बढाइएको छ ।’ गौतमले एयरलाइन्स कम्पनीहरूले आफ्ना एयरक्राफ्टको बीमा गरेको हुने र सोही बीमाले यात्रु समेत कभर गर्ने जानकारी दिए । एयरलाइन्स कम्पनीले बीमा कम्पनीमा यात्र, परिचालिका र पाइलटको छुट्टाछुट्टै बीमा गराएका हुन्छन् । गौतमका अनुसार विमान दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको बीमा प्रतिव्यक्ती २० हजार अमेरिकी डलर हुन्छ । यसअनुसार दुर्घटनामा ज्यान गुमाउने यात्रुका आफन्तले प्रतियात्रु २० हजार डलर पाउनेछन् ।
यस्तै, विमान परिचालिकाले ४० हजार अमेरिकी डलर र पाइलटले १ लाख डलर पाउने गौतमले बताए । यसअनुसार यतिले ६८ जना यात्रुको बीमा बापत १३ लाख ६० हजार डलर भुक्तानी गर्नुपर्ने छ । यस्तै, २ जना परिचालिकाको बीमा बापत ८० हजार अमेरिकी डलर र पाइलटको बीमा बापत २ लाख डलर भुक्तानी गर्नुपर्ने हुन्छ । यसअनुसार बीमा कम्पनीले यात्रु, क्याबिन क्रुु र विमानको समेत गरी करोडौंको भुक्तानी गर्नुपर्ने देखिएको छ । बीमा कम्पनीहरूले बीमा गरेपछि अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स कम्पनीहरुमा जोखिमको बीमा गराउँछन् । सोहीअनुसार दुर्घटना लगत्तै सिंगापुरबाट सर्भेयर आउने र सर्भेयरको प्रतिवेदनअनुसार के–कति भुक्तानी गर्ने विषय खुल्ने बीमा कम्पनीको भनाइ छ । बीमा कम्पनीले यात्रु र क्याबिन क्रुसँगै विमानको बीमा रकम समेत भुक्तानी गर्नुपर्छ । सर्भेयरको सर्भेपछि भुक्तानी प्रक्रिया अघि बढाउने कम्पनीको योजना रहेपनि कति दिनमा भुक्तानी हुने भन्ने विषय अहिले टुंगो लागिनसकेको बीमा कम्पनीको भनाइ छ ।

बीमा दाबी भुक्तानीमा समस्या छैन : अध्यक्ष सिलवाल
राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा दाबी भुक्तानी सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको उनले बताए । प्रमाणको आधारमा बीमा दाबीमा कुनै समस्या नरहेको उनको भनाइ थियो । विदेशी नागरिकको शव पनि संकलन गरेर त्यसको पोष्टमार्टम गर्नुपर्ने र त्यसलाई विदेश पठाउने व्यवस्थालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार