free website hit counter

हिमालयन रिइन्स्योरेन्सलाई उचाइमा पुर्याउने घोषणा

beemaadmin
२०८० पुष १२, बिहीबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आइपीओ बुधबार बाँडफाँट भएको छ । आइपीओ बाँडफाँट कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले प्रिमियमबाट उठेको रकम भवन निर्माणमा लगानी गर्ने बताएकी छिन् । प्रिमियमबाट उठेको रकम कम्पनीको भवनमा लगानी गर्छौं या, त्यो भएन भने राम्रो कम्पनीमा लगानी गर्छौं, उनले भनिन् । हाल यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको नक्सालमा रहेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसबाट कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कम्पनीलाई जगबाटै बलियो बनाउने गरी काम गरिरहेको उनले बताइन् । साथै कम्पनीको व्यवसाय अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । हिमालयन रिइन्स्योरेन्स पब्लिक कम्पनी बन्यो, अब कम्पनीलाई उचाइमा पुर्याउने उद्देश्य छ, आन्तरिक बजारमा व्यवसाय गरिरहेको छ, हाम्रो उद्देश्य आन्तरिक बजारमा मात्रै सीमित नभएर विदेशमा पनि काम गर्छौं, उनले भनिन् । उनका अनुसार ३ वर्षको अवधिमा कम्पनीले २९ वटा अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका छ । नेपालको पहिलो रेटेड कम्पनी भएकाले अन्तर्राष्ट्रिय ब्राण्डेड कम्पनी बनाउने उनले बताइन् । तत्काल लगानीकर्तालाई लाभांश दिनेभन्दा पनि कम्पनीको उद्देश्य दीर्घकालसम्म टिकिरहने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा छाईरहेका छौं, अन्तर्राष्ट्रिय बजारमा नेपाल र हिमालयन रिइन्स्योरेन्सको नाम उचाईमा पुर्याउने योजना छ, ५० वटा देशका मार्केटले हामीलाई विश्वास गरेर अफर गरेका छन्, २९ वटा देशमा पुगिसकेका छौं, उनले भने, ‘रिइन्स्योरेन्सको व्यवसायमा सधैं राम्रो व्यापार हुँदैन, ननप्रोफिटेबल बिजनेश पनि लिनु पर्ने हुन्छ, त्यसमा अण्डरराइटिङ गाइडलाइन अनुरुप अघि बढ्नु पर्छ, पहिला आफू बलियो हुनुपर्छ, तुरुन्तै धेरै लाभांश दिने होइन, दीर्घकाल टिक्ने नाफायोग्य व्यवसाय गर्छौं । उनका अनुसार तत्काल फाइदा देखाएर लगानीकर्तालाई खुसी बनाउने भन्दा पनि दीर्घकालसम्म लगानीकर्तालाई टिकाउने उद्देश्य हो । सकेसम्म छिटो वार्षिक साधारणसभा गर्ने तयारी रहेको उनले बताइन् ।

सम्बन्धित समाचार