काठमाडौं । व्यवसायिक दक्षता र स्वस्थ प्रतिस्पर्धाको अभाव रह्यो भने कुनै पनि व्यवसाय सफल हुन सक्दैन । यसका उदाशरण बीमा बजारमा बीमा पोलिसी सरेन्डरको दरले देखाउने गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिना सम्ममा ८८ ह जार ६३५ बीमितले १२ अर्ब २७ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर अर्थात् बीमालेख समर्पण गरेका छन् । चालु आवको १० महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको भन्दा ११.७० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा ८९ हजार ७७ बीमितले १० अर्ब ९८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको थियो । बीमा सरेण्डरको साथसाथै बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या पनि बढ्दै गएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको १० महिनामा १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ८६ करोड २० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । अर्थात त्यति रुपैयाँ बराबरको रकम अझै उठ्न बाँकी छ ।चालु आवको १० महिनामा भएको बीमालेख व्यतित रकम गत आवको तुलनामा १८.९६ प्रतिशतले बढेको छ भने व्यतित बीमालेखको संख्या ११.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ३० अर्ब ९८ करोड रुपैयाँ उठ्न बाँकी थियो ।