काठमाडौँ । शेयर बजारमा आइपीओ जारी गर्नेक्रम बढिरहेको बेला अझै २९ वटा कम्पनी पाइप लाइनमा रहेका छन् । यसैक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार अझै पनि विभिन्न २९ कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । सेबोनको अनुमति पाए लगत्तै आईपीओ निष्काशन गर्ने प्रक्रिया शुरु गर्ने भन्दै कम्पनीहरु सेबोनबाट अनुमति कुरेर बसिरहेका हुन् ।
कम्पनीहरुले १० अर्ब ४ करोड ८८ लाख २८ हजार १ सय ८५ रुपियाँ बराबरको आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन दिएका छन् । यसरी आवेदन दिनेमा बीमा कम्पनी २ वटा, जलविद्युत कम्पनी १६ वटा, अन्य कम्पनी ३ वटा, लगानी सम्बन्धी कम्पनी १ वटा, होटल एण्ड टुरिजम सम्बन्धी २ वटा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ सम्बन्धी ३ वटा र लघुवित्त कम्पनी २ रहेका छन् ।
सेबोनमा आवेदन दिएका २९ मध्ये १९ वटा अण्डर प्रिलिमिनरी रिभ्यूको चरणमा, ४ वटालाई रिभ्यू गरी कमेन्ट पठाइएको र ६ वटा रिभ्यूको क्रममा रहेको सेबोनले जनाएको छ । आईपीओ निष्काशनका लागि आवेदन दिई अनुमतिको पर्खाइमा रहेका कम्पनीहरुमा रिलायबल लाइफ इन्स्योरेन्स, कुथेली बुखारी स्मल हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, सिटी होटल लिमिटेड, मायाखोला हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, बीपीडब्लू लघुवित्त, ईनग्वा हाइड्रोपावर लिमिटेड, शुभम पावर लिमिटेड, सुपर मादी हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, ट्रेड टावर लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, अपर साङ्गे हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र घोराही सिमेन्ट इण्डस्ट्रिज रहेका छन् ।