काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि बुधबार ग्राण्डी अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिसपछि स्वास्थ्य अवस्थामा सुधार आएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सचिवालय र अस्पतालले नियमित स्वास्थ्य परीक्षण मात्र भएको दाबी गर्दै आएको छ । बुधबार र बिहीबार दुई पटक उनको मिर्गौलाको डायलासिस गरिएको समाचारहरु बाहिर आइसक्दा पनि आधिकारीक रुपमा यसको जानकारी सार्वजनिक गरिएको छैन ।
बिहीबार प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुग्नुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो, भर्खर एउटा डायलासिस भएपछि रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ ।प्रधानमन्त्रीसँग आफ्नो सामान्य कुराकानी भएको प्रचण्डले सुनाउनुभयो । प्रचण्डले भन्नुभयो, डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।
यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुग्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भेटघाट गर्नुभएको थियो भने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल लगायतका अन्य नेतालाई भेटघाट गर्न नदिइएको बताइएको छ । अस्पताल सूत्रकाअनुसार सघन कक्षमा रहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर बाक्लो भेटघाट गर्न नदिइएको बताइएको छ ।