काठमाडौं । यसअघि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क कोरोना कहरका बेला अस्थायी रुपमा हटाइएको भए पनि अब भने स्थायी रुपमै हटेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रको कुनै पनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन । यसअघि स्वदेशको कारोबारमा लाग्दै आएको सेवाको शुल्क समेत बैंक तथा वित्तीय संस्था आफैंले निर्धारण गर्दै आएका थिए । केही बैंकले भने यस्तो सेवा निःशुल्क गर्दै आएका थिए ।